चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो निर्वाचनमा राजावादी मतदाताहरूले आफ्नो दलभन्दा बढी भरोसा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन)माथि गरेको बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार राजसंस्था पक्षधर मतदाताले राप्रपाभन्दा पनि बालेनले राजसंस्था पुनर्स्थापना गर्न सक्ने अपेक्षासहित समर्थन गरेको देखिएको थियो। “यो निर्वाचनमा राजा मान्ने मतदाताले पनि राप्रपाभन्दा बालेनले राजा फर्काउँछ भन्ने विश्वासमा मत दिए,” लिङ्देनले भने, “जनताको यस्तो भरोसालाई सम्बोधन गर्ने जिम्मेवारी अहिले तपाईंहरूको काँधमा आएको छ।”
उनले रास्वपाले प्राप्त गरेको अवसरलाई ऐतिहासिक भन्दै यसलाई सही रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। राजनीति र व्यक्तिगत जीवनमा यस्ता अवसर बारम्बार नआउने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।
लिङ्देनले थपे, “इतिहासले तपाईंहरूलाई असाधारण अवसर दिएको छ। पार्टी जीवनमा वा व्यक्तिगत रूपमा यस्तो अवसर विरलै आउँछ। यसलाई सदुपयोग गर्दै जिम्मेवारी पूरा गर्नु आवश्यक छ।”
उनले पछिल्लो निर्वाचनको नतिजाबारे टिप्पणी गर्दै धेरै ठाउँमा संगठनात्मक संरचना कमजोर भए पनि नयाँ दलले उल्लेखनीय मत प्राप्त गर्नु नेपाली राजनीतिको असामान्य परिघटना भएको उल्लेख गरे।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया