काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलप्रति नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ।
खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरेका छन्। श्रद्धाञ्जली कार्यक्रममा उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति करिब पौने १० बजे ८० वर्षको उमेरमा निधन भएको थियो। उनी केही समयदेखि दमसम्बन्धी समस्याबाट पीडित रहेका थिए।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहानदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। परिवारका सदस्य, शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्ताले खरेलप्रति श्रद्धासुमन अर्पण गरिरहेका छन्।
स्वर्गीय खरेलको अन्त्येष्टि आज दिउँसो १ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गर्ने कार्यक्रम तय गरिएको छ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार













प्रतिक्रिया