काठमाडौं । काठमाडौंको कोटेश्वर क्षेत्रमा यात्रु तानातान गर्दै सवारीसाधनमा चढाउन बाध्य बनाउने तथा हैरानी दिने आरोपमा प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पूर्वी नेपालतर्फ जाने सवारीसाधनका लागि यात्रु व्यवस्थापनको नाममा अवैध रूपमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पक्राउ परेकाहरूले यात्रुलाई सिट मिलाइदिने बहानामा विभिन्न सवारीसाधनमा चढाउने, कमिसन लिने तथा यात्रुलाई अनावश्यक रूपमा दुःख दिने गतिविधि गर्दै आएका थिए।

पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी र २६ वर्षीय खड्कबहादुर तामाङ, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा र ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ र ३६ वर्षीय राजेश सापकोटा, सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, डोरकुमार श्रेष्ठ तथा ओखलढुंगाका ४५ वर्षीय नन्दलाल बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार उनीहरू कोटेश्वरबाट जनकपुर, महोत्तरीलगायत पूर्वी जिल्लातर्फ सञ्चालन हुने ईभी माइक्रोबस तथा सुमोमा यात्रु चढाएर कमिसन लिने कार्यमा संलग्न थिए।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com