काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिला गरी आज मंगलबारबाट सुरु हुँदैछ।
सोमबार बिहानदेखि नै सुरु गर्ने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचयपत्र छपाइ कार्य समयमा नसकिएका कारण आजका लागि सारिएको हो। बन्दसत्रलाई व्यवस्थित बनाउनका लागि आज बिहान ७:०० बजेदेखि नै महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य सुरु गरिएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार महाधिवेशन पार्टीको सर्वोच्च र संवेदनशिल निकाय भएकाले यस प्रक्रियामा कुनै पनि किसिमको प्राविधिक त्रुटि वा विवाद नआओस् भन्नेमा पार्टी दृढ रहेको छ। सोही कारण केही ढिलाइ भए पनि प्रतिनिधिहरूको विवरण दुरुस्त पारेर मात्र बन्दसत्र अगाडि बढाउने निर्णय गरिएको हो।
सोमबार साँझदेखि नै परिचयपत्र वितरणको आन्तरिक तयारी थालिएको र राति छपाइ सकिएका कार्डहरू आज बिहानैदेखि सातवटै प्रदेश, समायोजन तथा प्रवास समितिका फरक-फरक काउन्टरहरूबाट सहज रूपमा वितरण भइरहेको प्रवक्ता झाले जानकारी दिए।
परिचयपत्र वितरण कार्य सम्पन्न भएलगत्तै पूर्ववत् कार्यतालिका अनुसार नै बन्दसत्रका औपचारिक कार्यक्रमहरू अगाडि बढ्ने छन्। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् र त्यसमाथि प्रतिनिधिहरूबीच गहन छलफल हुनेछ। अनुशासनको प्रतिवेदन पारित भएपछि कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् र त्यसमाथि पनि बन्दसत्रमा छलफल चलाइने छ।
आर्थिक प्रतिवेदनमाथिको छलफल सकिएपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सांगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। त्यसलगत्तै पार्टीका सहमहामन्त्रीले परिमार्जित विधान बन्दसत्रमा पेस गरी त्यसमाथि छलफल र अनुमोदन गराउनेछन्।
विधान पारित भएपछि पार्टी सभापति रवि लामिछानेले बहुप्रतीक्षित राजनीतिक प्रतिवेदन पेस गर्नेछन्, जसमाथि व्यापक छलफल गरेर बन्दसत्रबाट अनुमोदन गराइनेछ। राजनीतिक प्रतिवेदन पारित भएपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन् र वर्तमान आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित तालिका रहेको छ।
त्यसलगत्तै निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सम्बन्धी आधिकारिक जानकारी र तालिका प्रकाशन गर्नेछ।
गत आइतबार दिउँसो चितवनको गेष्टहाउस चौरमा विशेष समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको रास्वपाको यस महाधिवेशनको बन्दसत्रका सम्पूर्ण कार्यक्रमहरू भने नारायणगढस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेका छन्।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












प्रतिक्रिया