काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबै व्यक्तिमाथि समान मापदण्ड लागू हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको सम्पत्तिमाथि अनुसन्धान हुन सक्ने हो भने अन्य उच्चपदस्थ राजनीतिक नेतृत्वको सम्पत्तिबारे पनि निष्पक्ष र पारदर्शी ढंगले छानबिन हुनुपर्ने बताएका हुन्।

advertisement

उनले विशेषगरी कम उमेरमै उल्लेख्य सम्पत्ति आर्जन गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलगायतका नेताहरूको सम्पत्तिको स्रोतबारे समेत गम्भीर अनुसन्धान आवश्यक रहेको उल्लेख गरेका छन्।

बस्नेतले व्यक्ति, दल वा राजनीतिक निकटताका आधारमा छानबिनका मापदण्ड फरक–फरक हुन नहुने जिकिर गर्दै सम्पत्ति आर्जनका स्रोत र सम्बन्धित अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनले पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको नेतृत्वमा गठन गरिएको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको विषय उठाउँदै त्यसबारे स्पष्टता दिन सरकारलाई आग्रह गरेका छन्।

साथै, उक्त प्रतिवेदन सार्वजनिक नगरी गृहमन्त्री सुदन गुरुङलाई पुनः जिम्मेवारीमा नियुक्त गरिएको विषयले थप प्रश्नहरू जन्माएको उनको भनाइ छ।

महेश बस्नेतले कानुनको शासन र सुशासनको मर्मअनुसार सबै सार्वजनिक पदाधिकारीको सम्पत्तिमाथि समान र निष्पक्ष मापदण्डका आधारमा अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com