काठमाडौं । निर्वाचन आयोगले अन्य राजनीतिक दलमा प्रवेश गरेको आधारमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढासहित तीन जना जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ।

नेपाली कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष बुढा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

advertisement

आयोगका अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ मा भएको व्यवस्थाअनुसार दल त्याग गरेको आधारमा उनको पद रिक्त गरिएको हो।

यससँगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकालको पद पनि रिक्त भएको घोषणा गरिएको छ। उनीहरू दुवै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले सम्बन्धित जनप्रतिनिधिहरूले पार्टी परित्याग गरी अन्य दलमा आबद्ध भएको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। सोही जानकारीका आधारमा आयोगको असार ८ गते बसेको बैठकले उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ।

आयोगले जारी गरेको सूचनाअनुसार दल परिवर्तन गरेका जनप्रतिनिधिहरूको पद कानुनी व्यवस्थाअनुसार स्वतः रिक्त हुने प्रावधान कार्यान्वयन गरिएको हो।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com