काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मतभेद र असन्तुष्टि रहनु स्वाभाविक भए पनि त्यसलाई संगठनभित्रै समाधान गर्नुपर्ने बताएका छन्।
भरतपुरमा मंगलबार सुरु भएको पार्टीको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाभित्र विभिन्न विषयमा फरक धारणा र विवाद रहेको स्वीकार गरे। तर, ती विषयलाई सार्वजनिक विवाद वा गुटबन्दीमा रूपान्तरण नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे।
उनले पार्टीभित्र देखिएका समस्या र असहमतिलाई संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै कुनै पनि आन्तरिक विषय सडक, सामाजिक सञ्जाल वा सार्वजनिक मञ्चमा लैजान नहुने बताए।
सभापति लामिछानेले रास्वपालाई विश्वास गरेर मत दिएका लाखौँ नागरिकको अपेक्षा र भरोसालाई केन्द्रमा राखेर काम गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए। व्यक्तिगत स्वार्थ, समूहगत सोच वा गुटगत गतिविधिले पार्टीको उद्देश्य कमजोर बनाउने भएकाले त्यस्ता प्रवृत्तिबाट टाढा रहन उनले आग्रह गरे।
उनले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न एकता, अनुशासन र साझा लक्ष्यप्रति प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै सबैलाई संगठनको हितलाई प्राथमिकतामा राख्न आह्वान गरे।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार










प्रतिक्रिया