काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्ला वर्षहरूमा पार्टी सत्ता केन्द्रित राजनीति, गठबन्धनको गणित र भागबण्डाको संस्कृतिमा अल्झिँदा जनविश्वास कमजोर बनेको बताएका छन्।

मंगलबार झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस जनताको आशा र अपेक्षाभन्दा पनि सत्ताको समीकरणमा बढी केन्द्रित देखिएको स्वीकार गरे। उनले यही कारण पार्टीप्रति नागरिक, विशेषगरी नयाँ पुस्ताको आकर्षण घट्दै गएको बताए।

advertisement

उनले २०७२ सालमा संविधान जारी भएपछि निरन्तर दोहोरिँदै आएको सत्ता फेरबदल, अवसरअनुसार दलहरूबीच हुने गठबन्धन र सरकार निर्माणको अभ्यासले कांग्रेसको राजनीतिक छविमा नकारात्मक असर परेको उल्लेख गरे।

‘हामी जनताका मुद्दाभन्दा सत्ताको अंकगणितमा बढी व्यस्त भयौँ। सरकार बनाउन र जोगाउन जे–जस्तो समीकरण पनि स्वीकार गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको छ,’ थापाले भने।

सभापति थापाले अब कांग्रेसलाई नेतामुखी संरचनाबाट कार्यकर्ता र नागरिकमुखी संगठनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। हालको संरचनामा निर्णय प्रक्रिया माथिल्लो तहमा केन्द्रित रहेको भन्दै उनले नेतृत्वले कार्यकर्ताप्रति र कार्यकर्ताले नागरिकप्रति उत्तरदायी हुने संस्कृतिको विकास गर्नुपर्ने बताए।

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन उम्मेदवार छनोट प्रक्रियामा प्रविधिको प्रयोग गरिने पनि उनले जानकारी दिए। आगामी निर्वाचनमा उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने र डिजिटल प्रणालीमार्फत राय संकलन गरिने उनको भनाइ थियो।

थापाले आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरे। महाधिवेशनको निष्पक्षतामाथि कसैलाई शंका भए सदस्यता छानबिनदेखि निर्वाचन व्यवस्थापनसम्म सबै पक्षको विश्वास कायम हुने गरी संयन्त्र निर्माण गर्न आफू तयार रहेको उनले बताए।

संसद्मा हालै गरिएको जिम्मेवारी हेरफेरबारे स्पष्ट पार्दै थापाले त्यसलाई कुनै व्यक्ति वा समूहको अपमानका रूपमा नबुझ्न आग्रह गरे। उनले पार्टीको विधान, संगठनात्मक आवश्यकता र नयाँ नेतृत्व चयनपछिको स्वाभाविक प्रक्रियाअनुसार जिम्मेवारी पुनःविन्यास गरिएको बताए।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com