काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राष्ट्रियता, लोकतन्त्र, सुशासन र जवाफदेहिताका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
मंगलबार कांग्रेस झापाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै शर्माले रास्वपाको प्रथम महाधिवेशन केवल संगठनात्मक प्रक्रिया मात्र नभई पार्टीको वैचारिक दिशा स्पष्ट पार्ने अवसर पनि भएको बताए।
उनले राष्ट्रियतासम्बन्धी विषयमा रास्वपाको आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा राखेका अभिव्यक्तिप्रति पार्टीको दृष्टिकोण के हो भन्ने प्रश्न उठाए।
‘यदि प्रधानमन्त्रीको धारणा नै पार्टीको धारणा हो भने त्यसलाई महाधिवेशनको दस्ताबेजमा स्पष्ट रूपमा समेटिनुपर्छ। होइन भने पार्टीले आफ्नो आधिकारिक अडान सार्वजनिक गर्नुपर्छ,’ शर्माले भने।
उनले प्रधानमन्त्रीका अभिव्यक्तिमाथि पार्टीले कुनै स्पष्ट निर्णय वा धारणा बनाउन नसके रास्वपाको संस्थागत भूमिकामाथि नै प्रश्न उठ्ने टिप्पणी गरे।
लोकतान्त्रिक मूल्य–मान्यताका विषयमा पनि रास्वपा स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। नागरिकलाई वैकल्पिक व्यवस्था नगरी वर्षायामका बेला बस्ती हटाउने कार्यलाई लोकतान्त्रिक शासन प्रणालीको अभ्यास मान्न सकिने वा नसकिने विषयमा उनले प्रश्न गरे।
शर्माले राष्ट्रपति सम्बोधनका क्रममा प्रधानमन्त्री संसद् भवनबाट बाहिरिएको घटनाप्रति पनि असन्तुष्टि जनाए। प्रधानमन्त्रीले संसद् र संवैधानिक संस्थाप्रति सम्मानजनक व्यवहार प्रदर्शन गर्नुपर्ने उनको धारणा थियो।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसद्को नियमावली संशोधनका विषयमा पनि उनले प्रश्न उठाए। भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएपछि सांसदको पद निलम्बन हुने विगतको व्यवस्था परिवर्तन गरिएको प्रसंग उल्लेख गर्दै उनले त्यसबारे रास्वपाको महाधिवेशनको धारणा के हुने भनी जिज्ञासा राखे।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे पनि स्पष्टता आवश्यक रहेको शर्माले बताए। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति र त्यसको स्रोतबारे पारदर्शी जानकारी दिनुपर्नेमा जोड दिँदै उनले सुशासनको पक्षमा उभिने दलले आफ्नै नेतृत्वमाथि उठेका प्रश्नहरूको जवाफ दिन सक्नुपर्ने बताए।
रास्वपाको महाधिवेशनले यी विषयमा स्पष्ट नीति, धारणा र प्रतिबद्धता प्रस्तुत गर्छ वा गर्दैन भन्ने कुरा अहिलेको मुख्य चासोको विषय बनेको शर्माको भनाइ थियो।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार










प्रतिक्रिया