काठमाडौं । सरकारी वकिलको कार्यालयले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि २० दिन थुनामा राख्न अनुमति माग गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा पक्राउ परेका पौडेललाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको थियो। व्यवसायी दीपक भट्टसँग भएको भनिएको शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान भइरहेको भन्दै विभागको अनुरोधमा उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको हो।
विशेष अदालतमा भएको सुनुवाइका क्रममा सरकारी पक्षले अनुसन्धान प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन पौडेललाई २० दिन हिरासतमा राख्नुपर्ने जिकिर गरेको छ।
यता, पौडेलका कानुन व्यवसायीहरूले भने उनी सार्वजनिक जिम्मेवारी निर्वाह गरिसकेका र स्थायी ठेगाना भएका व्यक्ति भएकाले फरार हुने सम्भावना नरहेको तर्क गर्दै हाजिर जमानीमा छाडेर तारिखमा अनुसन्धान अगाडि बढाउन अदालतसँग माग गरेका छन्।
विशेष अदालतका सूचना अधिकारीका अनुसार सरकारी वकिलतर्फको बहस सकिएको छ भने हाल प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गरिरहेका छन्।
दुवै पक्षको बहस सम्पन्न भएपछि इजलासले थुनामा राख्ने वा अन्य कुनै सर्तमा अनुसन्धान अघि बढाउने विषयमा आदेश जारी गर्नेछ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












प्रतिक्रिया