चितवन । गृहमन्त्री सुधन गुरुङको नास्तामा अस्वाभाविक वस्तु फेला परेपछि प्रहरीले होटलका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
रास्वपाको महाधिवेशनका क्रममा चितवनमा रहेका गृहमन्त्री गुरुङले मंगलबार बिहान एयरपोर्ट रोडस्थित लर्ड होटलमा नास्ता गर्ने क्रममा अम्लेटभित्र माछाको काँडा भेटिएको बताइएको छ।
घटनापछि प्रहरीले होटलको भान्छामा कार्यरत दुई जना कुकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर पौडेलले जानकारी दिए। उनका अनुसार घटनाको वास्तविकता बुझ्न आवश्यक अनुसन्धान अघि बढाइएको छ।
अम्लेटमा माछाको काँडा भेटिएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीको संयुक्त टोलीले होटलको भान्छा तथा खाद्य व्यवस्थापनको अनुगमन गरेको छ।
प्रहरीका अनुसार रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइने खानाको गुणस्तर र सुरक्षालाई ध्यानमा राख्दै चितवनका होटल तथा रेष्टुरेन्टहरूको निरीक्षणलाई थप तीव्र बनाइएको छ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












प्रतिक्रिया