काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा म्याद थपसम्बन्धी बहस विशेष अदालतमा सम्पन्न भएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासमा मंगलबार सरकारी पक्ष र प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आ–आफ्नो तर्क प्रस्तुत गर्दै बहस टुंग्याएका हुन्।
बहस सकिएसँगै इजलास आदेश तयारीका लागि अवकाश भएको छ। अब अदालतले पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिने वा नदिने विषयमा आदेश जारी गर्नेछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि भइरहेको अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउन २० दिन हिरासतमा राख्न अनुमति माग गरेको छ। विभागका अनुसार सम्पत्ति शुद्धीकरणको अनुसन्धानको घेरामा रहेका व्यवसायी दीपक भट्टसँग भएको भनिएको शंकास्पद आर्थिक कारोबारका आधारमा पौडेलमाथि अनुसन्धान अघि बढाइएको हो।
सोही सिफारिसका आधारमा पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनी वीरेन्द्रनगर–३ स्थित शुभ होटलमा रहँदा नियन्त्रणमा लिइएका थिए।
पक्राउपछि उनलाई स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो। हाल विशेष अदालतको आदेशको प्रतीक्षामा रहेका पौडेलमाथि अनुसन्धान प्रक्रिया कसरी अघि बढ्ने भन्ने विषय अदालतको निर्णयपछि स्पष्ट हुने छ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार













प्रतिक्रिया