काठमाडौं । काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो राष्ट्रिय मुवा थाई च्याम्पियनसिपमा गण्डकी प्रदेश तथा चितवन जिल्लाको प्रतिनिधित्व गरेकी राइनो मुवा थाई चितवनकी खेलाडी पूजा पाण्डेलाई स्वर्ण पदकबाट वञ्चित गरिएको भन्दै विवाद उत्पन्न भएको छ।
प्रतियोगिताको दौरान रिङभित्र उत्कृष्ट प्रदर्शन गरेकी पूजा पाण्डेले स्पष्ट रूपमा खेलमा आफ्नो प्रभुत्व कायम गरेको दाबी गरिएको छ। प्रत्यक्ष अवलोकन, भिडियो सामग्री तथा खेलको अवस्थालाई आधार मान्दा उनले जित हासिल गरेको देखिए पनि निर्णायक मण्डलको अन्तिम निर्णय उनको पक्षमा नआएपछि सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन्।
राइनो मुवा थाई चितवनका अध्यक्ष तथा संस्थापक प्रशिक्षक गुरु विज्ञान दराईले खेलाडीमाथि अन्याय भएको आरोप लगाउँदै निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्। उनले निष्पक्ष छानबिन गरी न्यायपूर्ण निर्णय गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
खेलकुदको आधारभूत मान्यता निष्पक्षता र पारदर्शिता भए पनि यस प्रतियोगिताको निर्णय प्रक्रियाले ती मान्यतामाथि नै प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूले निर्णायक मण्डल र सम्बन्धित पक्षको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
यस घटनाले खेलाडीको वर्षौंको मेहनतमाथि अन्याय भएको भन्दै भविष्यमा यस्ता विवाद दोहोरिन नदिन पारदर्शी स्कोरिङ प्रणाली र प्रभावकारी अनुगमन संयन्त्र लागू गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया