काठमाडौं। मध्यपूर्वमा अमेरिका र इरानबीचको तनावका कारण विश्वकै संवेदनशील समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्य पुनः विश्वको ध्यानको केन्द्र बनेको छ। विश्वको करिब २० प्रतिशत तेल यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
अमेरिका, इरान र इजरायलबीच बढ्दो सैन्य तनावसँगै हर्मुज जलडमरूमध्यमा जहाज आवतजावत प्रभावित भएको छ। यसका कारण विश्व बजारमा तेल तथा ग्यासको मूल्यमा वृद्धि देखिएको छ।
हर्मुज जलडमरूमध्यले ओमानको खाडी र फारसको खाडीलाई जोड्ने काम गर्छ। यसको सबैभन्दा साँघुरो भाग इरान र ओमानको समुद्री सीमाभित्र पर्ने भएकाले दुवै देशले यस क्षेत्रमा अधिकार दाबी गर्दै आएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री कानुनअनुसार तटीय राष्ट्रहरूले आफ्नो तटबाट १२ नटिकल माइलसम्म नियन्त्रणको अधिकार राख्छन्।
यस क्षेत्रको रणनीतिक महत्त्वका कारण इरानले लामो समयदेखि यहाँ आफ्नो सैन्य प्रभाव कायम राख्दै आएको छ। विशेषगरी साँघुरो समुद्री मार्ग इरानी जलक्षेत्र नजिक पर्ने भएकाले इरानले जहाजहरूको आवतजावतमा निगरानी र प्रभाव देखाउने गरेको छ।
हाल अमेरिका र इरानबीच सम्भावित स्थायी सम्झौताका लागि वार्ता जारी छ। प्रारम्भिक सहमतिका केही बुँदामा हर्मुज जलडमरूमध्यसम्बन्धी विषय पनि समावेश गरिएको बताइएको छ। त्यसअनुसार अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउने र इरानले व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने चर्चा छ।
यद्यपि, जलमार्गमाथि पूर्ण नियन्त्रण कसको भन्ने प्रश्न अझै स्पष्ट छैन। इरानले हालै “पर्सियन गल्फ स्ट्रेट प्राधिकरण” गठन गर्दै जलमार्ग व्यवस्थापनमा आफ्नो भूमिका बढाउने संकेत दिएको छ। यसले हर्मुज भएर गुज्रिने जहाजहरूले अनुमति लिनुपर्ने वा सेवा शुल्क तिर्नुपर्ने व्यवस्था हुन सक्ने संकेत गरेको छ।
तर अमेरिका, र अन्य खाडी राष्ट्रहरूले इरानको यस्तो दाबीलाई अस्वीकार गरेका छन्। उनीहरूको भनाइमा हर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय समुद्री मार्ग भएकाले कुनै एक देशले पूर्ण नियन्त्रण गर्न सक्दैन।
विशेषज्ञहरूका अनुसार राजनीतिक सहमति भए पनि व्यावसायिक ढुवानी प्रणाली तत्काल सामान्य अवस्थामा फर्किन कठिन हुनेछ। जहाजहरूको सुरक्षा, सम्भावित शुल्क व्यवस्था र क्षेत्रीय शक्ति सन्तुलनजस्ता विषयले आगामी दिनमा पनि हर्मुज जलडमरूमध्यलाई विश्व राजनीतिको केन्द्रमा राख्ने देखिन्छ।
समग्रमा, हर्मुज जलडमरूमध्यको भौगोलिक अवस्थाले इरान र ओमानलाई प्राकृतिक प्रभाव दिएको भए पनि यसको वास्तविक नियन्त्रण भने अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, कूटनीति र सैन्य उपस्थितिमाथि निर्भर रहेको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार













प्रतिक्रिया