काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले झापामा आयोजित एक कार्यक्रममा क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिहरू पार्टीको सदस्य नरहने अभिव्यक्ति दिएको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ ।
सभापति थापाले सदस्यता अद्यावधिक नगरेका व्यक्तिहरूको नाम वडा अधिवेशनदेखि माथिल्लो तहसम्मको निर्वाचन प्रक्रियामा समावेश नहुने तथा आगामी १५औं महाधिवेशनमा सहभागी हुन नपाउने बताएका थिए । उनका अनुसार अद्यावधिक नभएका सदस्यलाई पार्टीको प्रणालीले समेत नचिन्ने अवस्था रहनेछ ।
यस विषयमा पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले लामो समयदेखि पार्टीमा योगदान पुर्याएका, आफ्नो जीवन, ऊर्जा तथा संघर्ष समर्पण गरेका नेता–कार्यकर्ताको सदस्यता खारेज गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत भएको नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आरोप लगाएका छन् ।
असन्तुष्ट पक्षले पार्टीमा एकलौटी निर्णय, फरक विचारप्रति असहिष्णुता तथा अद्यावधिक प्रक्रियालाई राजनीतिक रूपमा प्रयोग गरेर सदस्यता व्यवस्थापन गर्न खोजिएको उनको आरोप छ । उनका अनुसार पार्टीभित्र फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने वा वैकल्पिक धारणा प्रस्तुत गर्ने कार्यकर्तालाई निषेध गर्ने प्रयास भइरहेको छ ।
नेपाली कांग्रेस कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभएको उल्लेख गर्दै पार्टी लोकतान्त्रिक अभ्यास, बहस र विचारको प्रतिस्पर्धाबाट सञ्चालन हुनुपर्ने शाहीले बताएका छन् । फरक विचार राख्ने कार्यकर्तामाथि दबाब सिर्जना गर्ने तथा सदस्यता खारेजको चेतावनी दिने प्रवृत्तिले पार्टीको लोकतान्त्रिक चरित्र कमजोर बनाउने उनको तर्क छ ।
यसैबीच, सदस्यता अद्यावधिक नगरेका कारण समस्यामा परेका, अन्याय महसुस गरेका तथा पार्टीभित्र उपेक्षित बनेका कार्यकर्तालाई एकजुट हुन शाहीले आह्वान गरेका छन् । असन्तुष्ट समूहले पार्टीभित्रै रहेर लोकतान्त्रिक अधिकार, विचारको स्वतन्त्रता र संगठनात्मक न्यायका लागि संघर्ष जारी राख्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
निराश भएर पार्टी त्याग्नेभन्दा पनि नयाँ ऊर्जा, जागरूकता र साहसका साथ संगठनभित्रै सुधारको अभियान अघि बढाउनुपर्नेमा शाहीले जोड दिएका छन् ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार













प्रतिक्रिया