काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्ष मतदान प्रक्रियामा कुल २ हजार ९५९ मत खसेको छ।
बिहीबार मतदान सम्पन्न भएपछि रास्वपा निर्वाचन आयोगले मतदाताको सहभागिताबारे जानकारी सार्वजनिक गरेको हो। अब विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
प्रवासबाट हुने मतदान प्रक्रिया सम्पन्न भएपछि मात्र मतगणना सुरु गरी अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्येबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ। महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया अहिले निर्णायक चरणमा पुगेको छ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












प्रतिक्रिया