काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा केन्द्रीय सदस्य पदकी उम्मेदवार ज्वाला संग्रौलाले महाधिवेशनको निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन्।
मतदान प्रणालीमा आफ्नो परिचित नाम ‘ज्वाला’ हटाइएको भन्दै उनले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएकी हुन्। संग्रौलाका अनुसार पार्टीका विभिन्न आधिकारिक दस्तावेज तथा प्रक्रियामा प्रयोग हुँदै आएको नाम मतदानका क्रममा भने नदेखिएको थियो।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीको केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि र उम्मेदवारी दर्ता लगायतका सबै चरणमा आफू ‘ज्वाला संग्रौला’ नामबाट सहभागी भएको उल्लेख गरेकी छन्। तर मतदानका बेला प्रयोग गरिएको प्रणालीमा भने ‘ज्वाला’ नाम हटाइएकाले मतदाताहरू अन्योलमा परेको उनको दाबी छ।
उनले आफ्नो परिचित नाम खोज्ने क्रममा धेरै प्रतिनिधिले मतदान गर्न नपाएको र समयसमेत सकिएको उल्लेख गर्दै यसले आफ्नो उम्मेदवारीलाई प्रत्यक्ष असर पारेको बताएकी छन्।
संग्रौलाले अन्य उम्मेदवारहरूको परिचित नाम यथावत् राखिएको अवस्थामा आफ्नो नाम मात्रै हटाइनुले शंका उत्पन्न गरेको भन्दै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी छन्।
‘पार्टीका सबै आधिकारिक प्रक्रियामा प्रयोग भएको नाम मतदान प्रणालीमा मात्र हटाइनु सामान्य विषय होइन,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्। “नाममै राजनीति गरिएको महसुस भएकाले निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गरेकी छु।’
महाधिवेशनमा देखिएको उक्त विवादबारे निर्वाचन आयोगले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया