काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले पार्टीको पदाधिकारी निर्वाचनमा ‘नो भोट’ (कुनै उम्मेदवारलाई मत नदिने विकल्प) को व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केन्द्रीय सदस्य निर्वाचनमा उक्त व्यवस्था लागू गर्न सम्भव नभए पनि पदाधिकारी चयनको प्रक्रियामा भने ‘नो भोट’को विकल्प समावेश गर्नुपर्ने बताएका हुन्।
ढकालले केन्द्रीय सदस्य पदका लागि निश्चित सङ्ख्यामा पदपूर्ति गर्नुपर्ने बाध्यता रहेकाले पहिलो चरणमा यस्तो व्यवस्था सम्भव नभएको उल्लेख गर्दै पदाधिकारी निर्वाचनमा भने प्रतिनिधिलाई उम्मेदवार अस्वीकार गर्ने अधिकार दिनुपर्ने बताए।
‘केन्द्रीय सदस्यमा निश्चित सङ्ख्या निर्वाचित गर्नैपर्ने अवस्था थियो। तर पदाधिकारी निर्वाचनमा ‘नो भोट’को व्यवस्था हुनुपर्छ भन्ने विषय हामी उठाउँछौँ,’ उनले भने।
उनले आफू अहिले निर्णय गर्ने तहमा नभए पनि पार्टीभित्र सुधारको एजेन्डा अघि बढाउने भूमिकामा रहेको बताए। पार्टीलाई नयाँ सोच र अभ्यासतर्फ लैजान नेतृत्व तहमा पुग्न आवश्यक रहेको उनको भनाइ थियो।
‘म अहिले माग राख्ने अवस्थामा छु, निर्णय गर्ने अवस्थामा छैन। त्यसैले पनि पदाधिकारी तहमा पुगेर पार्टीभित्र आवश्यक सुधारका लागि पहल गर्न चाहन्छु,’ उनले भने।
नेता सागर ढकालले महाधिवेशन सञ्चालन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै देखिएका कमजोरीहरूलाई गम्भीर रूपमा समीक्षा गरी सुधार गर्नुपर्नेमा जोड दिए। उनले पार्टीलाई पुरानै राजनीतिक संस्कार र अभ्यासतर्फ फर्कन नदिन सचेत रहनुपर्ने धारणा पनि व्यक्त गरे।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया