एजेन्सी । श्रीलङ्कामा चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुसको लेनदेन गरेको आरोपमा पूर्वन्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षे पक्राउ परेका छन्।
देशमा भ्रष्टाचारविरुद्धको अभियान तीव्र बनिरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको यो कारबाहीलाई महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
श्रीलङ्काको भ्रष्टाचार अनुसन्धान आयोगले बिहीबार रकिथा राजपक्षेलाई नियन्त्रणमा लिएको हो। उनीमाथि सन् २०२३ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा मेडागास्करबाट पक्राउ गरी श्रीलङ्का ल्याइएका कुख्यात लागुऔषध तस्करीका आरोपी नादुन चिन्ताकालाई रिहा गराउने प्रयासमा संलग्न रहेको आरोप छ।
अनुसन्धान अधिकारीहरूका अनुसार तस्करको रिहाइका लागि करिब ५० करोड श्रीलङ्काली रुपैयाँ बराबरको घुस मागिएको थियो। आयोगले रकिथा राजपक्षेले उक्त रकममध्ये करिब १२ करोड रुपैयाँ प्राप्त गरिसकेको प्रारम्भिक प्रमाण फेला परेको जनाएको छ।
घटना भएको समयमा उनका पिता विजयदास राजपक्षे न्याय तथा कारागार सुधार मन्त्रीको जिम्मेवारीमा थिए। तर सन् २०२४ को आमनिर्वाचनपछि सरकार परिवर्तन भएपछि कथित रूपमा तयार गरिएको रिहाइ योजना कार्यान्वयन हुन नसकेको बताइएको छ।
नादुन चिन्ताका, जो ‘हरक काटा’ नामले परिचित छन्, श्रीलङ्काका सबैभन्दा कुख्यात लागुऔषध तस्करमध्ये एक मानिन्छन्। प्रहरीका अनुसार उनी आपराधिक सञ्जाल सञ्चालनमा संलग्न रहेका छन् र हाल न्यायिक हिरासतमा छन्।
गत सेप्टेम्बरमा राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। त्यसयता उच्च पदस्थ राजनीतिक व्यक्तित्व तथा प्रभावशाली समूहहरूमाथि अनुसन्धान र कारबाहीको दायरा विस्तार हुँदै गएको छ। रकिथा राजपक्षे यस अभियानअन्तर्गत पक्राउ परेका पछिल्ला चर्चित व्यक्ति हुन्।
अधिकारीहरूले विजयदास राजपक्षेको परिवार विगतमा श्रीलङ्काको राजनीतिमा प्रभावशाली रहेको राजापाक्षे राजनीतिक वंशसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन्। उक्त राजनीतिक परिवारका केही सदस्य भने हाल मनी लान्ड्रिङ तथा शक्ति दुरुपयोगसम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा रहेका छन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया