काठमाडौं। झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ नगद उपलब्ध गराउने नीति ल्याएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रममार्फत बालविवाह न्यूनीकरण तथा अन्त्य गर्ने उद्देश्यसहित यस्तो प्रोत्साहन योजना सार्वजनिक गरेको हो।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले कम उमेरमै हुने विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक विकास र समग्र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने बताइन्। उनले बालविवाह रोकथामका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको स्पष्ट पारिन्।
आदिवासी समुदायको उल्लेख्य बसोबास रहेको यस पालिकामा बालविवाहको कुप्रथा अझै गहिरो रूपमा रहेको भन्दै त्यसको नियन्त्रण तथा अन्त्यका लागि आगामी आर्थिक वर्षको बजेटमा २० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइएको छ।
उक्त कार्यक्रमबाट करिब २०० किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ। गाउँपालिकाको विश्वास अनुसार यस नीतिले किशोरीहरूलाई कानुनी उमेर पूरा भएपछि मात्र विवाह गर्ने प्रेरणा दिनेछ र समुदायमा बालविवाहविरुद्ध सचेतना फैलाउन सहयोग पुग्नेछ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ९३ लाख ९९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। यो बजेट गत आर्थिक वर्षको तुलनामा २ करोड ५१ लाख ५५ हजार ४६४ रुपैयाँले बढी हो।
यसैबीच, झापा जिल्लाका १५ वटै स्थानीय तहले बुधबार आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेका छन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया