चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयन प्रक्रिया तीव्र बनेको छ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार पार्टीभित्र शीर्ष पदका लागि प्रतिस्पर्धा चर्किएको छ। खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले को मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्।
महिला उपसभापति पदका लागि भने सोबिता गौतम र तोषिमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उम्मेदवारी दिएकी समिक्षा बास्कोटा ले उम्मेदवारी फिर्ता लिएकी छन्।
पार्टीको एक मात्र महामन्त्री पदका लागि ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्।
खुला सहमहामन्त्रीतर्फ दुई पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त रहेका छन्।
महिला सहमहामन्त्रीको एक पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा सहित पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचन आयोगका सदस्य गोकुल सापकोटा का अनुसार विधान र प्रक्रियाअनुसार निर्वाचन कार्यतालिका अघि बढाइएको छ। आयोगले दाबी–विरोध, आवश्यक छानबिन तथा उम्मेदवारी फिर्तासम्बन्धी प्रक्रिया पूरा गरिरहेको जनाएको छ।
प्रारम्भिक प्रक्रिया सम्पन्न भएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी बन्दसत्रमा मतदान गराइने तयारी गरिएको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया