काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत कदम चाल्दै बङ्गलादेश र पाकिस्तानजस्तो राजनीतिक अभ्यासतर्फ मुलुकलाई धकेल्न खोजेको आरोप लगाएकी छन्।
शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाइन्। बयानका लागि आवश्यक पर्दा जहिल्यै उपस्थित हुन सक्ने व्यक्तिलाई पक्राउ गर्नु सरकारको राजनीतिक नियत भएको उनको दाबी थियो।
झाँक्रीले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा विपक्षी दलका नेतामाथि मात्रै कारबाही केन्द्रित गरेको आरोप लगाइन्।
‘सुशासनका नाममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री र अहिले पूर्वअर्थमन्त्री विष्णु पौडेलसम्मलाई एउटै व्यक्तिको बयानका आधारमा निशाना बनाइएको छ। के यही नै सरकारले भनेको सुशासन हो?’ उनले प्रश्न गरिन्।
उनले आफ्नै दलका नेतामाथि फौजदारी अभियोग लाग्दा संरक्षण गर्ने तर विपक्षी दलका नेतामाथि कानुनी प्रक्रिया प्रयोग गरेर दबाब सिर्जना गर्ने काम भइरहेको आरोप पनि लगाइन्।
झाँक्रीका अनुसार सरकारले राजनीतिक प्रतिस्पर्धी, व्यवसायी र नागरिक समाजका प्रतिनिधिलाई समेत लक्षित गर्दै उनीहरूको आवाज दबाउने प्रयास गरिरहेको छ। ‘बङ्गलादेश र पाकिस्तानको शैलीमा मानिसलाई समातेर चुप लगाउने अभ्यास लोकतन्त्रका लागि घातक हो,’ उनले भनिन्।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया