रुपन्देही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता–कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी र पार्टीबाट प्राप्त सबै जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन्। जिम्मेवारी त्याग्नेमा केन्द्रीय सदस्य शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर ज्ञवाली र मदन थारूलगायत जिल्ला तथा पालिका तहका विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्ता छन्।
केन्द्रीय सदस्य शरद ओलीले पार्टीभित्र फरक विचार राख्ने नेता–कार्यकर्तामाथि कारबाही गर्ने, जिम्मेवारी खोस्ने र निष्क्रिय बनाउने प्रवृत्ति बढ्दै गएको आरोप लगाए। उनले उमा भुजेलमाथिको कारबाही र बसन्त श्रेष्ठको जिम्मेवारी खोसिएको घटनालाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्दै वैचारिक असहमतिलाई दण्डित गर्ने संस्कृतिका कारण आफूहरू जिम्मेवारीमा बसिरहन नसकेको बताए।
यद्यपि, पार्टीबाट अलगिए पनि आफूहरू कम्युनिस्ट आन्दोलनबाट विचलित नभएको स्पष्ट पार्दै उनले नयाँ ढंगबाट कम्युनिस्ट आन्दोलनको पुनर्गठन र वैचारिक अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
संयुक्त विज्ञप्तिमा लामो राजनीतिक संघर्ष, त्याग र योगदानका बाबजुद कम्युनिस्ट आन्दोलन अपेक्षाअनुसार अघि बढ्न नसकेको, आन्दोलन विभाजित र कमजोर बन्दै गएको तथा पार्टी नेतृत्वले स्पष्ट राजनीतिक दिशा दिन नसकेको निष्कर्ष उल्लेख गरिएको छ।
उनीहरूले समाजवादको लक्ष्य कमजोर बन्दै गएको, राष्ट्रिय स्वाधीनतामाथि चुनौती थपिएको र कम्युनिस्ट आन्दोलन विखण्डित अवस्थामा पुगेको दाबी गर्दै आन्दोलनको एकता, पुनर्गठन र सुदृढीकरणका लागि नयाँ वैकल्पिक राजनीतिक पहल आवश्यक रहेको बताएका छन्। साथै, वर्तमान नेतृत्वले त्यसतर्फ प्रभावकारी पहल गर्न नसकेको आरोप पनि लगाएका छन्।


प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया