विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि संसद्, सडक आन्दोलन र आगामी निर्वाचनमा कार्यगत सहकार्य गर्ने तयारी भइरहेको बताएका छन्।
विराटनगरमा आयोजित प्रदेशस्तरीय पार्टी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको प्रक्रिया अगाडि बढिरहेको र त्यससँगै एमालेसँग पनि विभिन्न राजनीतिक मुद्दामा सहकार्यको समझदारी बन्न लागेको जानकारी दिए।
उनले संसद्भित्र साझा एजेन्डामा सहकार्य गर्ने, सडक आन्दोलनमा संयुक्त रूपमा उत्रिने तथा आगामी प्रदेश र स्थानीय तह निर्वाचनमा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे।
प्रचण्डले तत्काल एमालेसँग पार्टी एकता गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पार्दै अहिलेको प्राथमिकता कार्यगत एकतालाई बलियो बनाउने रहेको बताए। उनका अनुसार वामपन्थी शक्तिहरूबीच सहकार्य विस्तार भए संसद्भित्र र बाहिर साझा राजनीतिक शक्ति निर्माण गर्न सहज हुनेछ।
सम्बोधनका क्रममा उनले आफूविरुद्ध हुने आलोचना र सामाजिक सञ्जालमा हुने टिप्पणीलाई सामान्य रूपमा लिने गरेको उल्लेख गर्दै कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।
‘हामी परिस्थितिअनुसार नयाँ राजनीतिक निर्णय लिन सक्ने शक्ति हौँ। विगतमा पनि आवश्यक पर्दा नयाँ मोड दिएका छौँ, आगामी दिनमा पनि त्यस्तै साहसिक निर्णय गर्न तयार छौँ,’ उनले भने। साथै उनले कार्यकर्तालाई कुनै भ्रम, डर वा हिचकिचाहट नराखी संगठन सुदृढीकरणमा सक्रिय हुन आह्वान गरे।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया