काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीका युवक डोटीमा मृत भेटिएका छन् ।
दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोल बस्ने ३५ वर्षीय सरोज थापा डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित रेनुका होटलको कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले थापा सुतेकै होटलको कोठामा मृत अवस्थामा भेटिएको जानकारी दिए ।
उनकाअनुसार बिहीबार दिउँसो कञ्चनपुरबाट चालकसहित १३ जना सवार रहेको सु–प–प्र०२–००१ ख १३२८ नम्बरको हाइसमा थापा घुम्न डोडी गएका थिए ।
राति करिब साढे ९ बजेतिर उनीहरू गैरास्थित रेनुका होटलमा पुगेका थिए । थापा होटलको २०४ नम्बर कोठामा हाइस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ गंगालाल चोकका ३९ वर्षीय बसन्तबहादुर सिंहसँगै सुतेको प्रहरीले जनाएको छ ।
बिहान सवा ६ बजे उठेर चालक सिंहले हेर्दा थापा ओछ्यानमै उत्तानो अवस्थामा मृत फेला परेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विपिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया