काठमाडौं। कुलमान घिसिङले वर्तमान सरकार प्रतिगामी दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
रामेछापको मन्थलीमा पत्रकार तथा नागरिक अगुवासँग भएको भेटघाट कार्यक्रममा बोल्दै उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउन विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै करको भार बढाएर गलत नीति अपनाएको बताए।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा मूल्य अभिवृद्धि कर लगाउने विषयलाई पनि जनविरोधी निर्णयको संज्ञा दिए। यस्तो नीति जनअपेक्षा विपरीत रहेको उनको भनाइ थियो। “एक प्रतिशत मात्र भए पनि यो नीतिगत विषय हो,” उनले भने।
घिसिङले वर्तमान सरकारी नीति श्रमिकविरोधी रहेको दाबी गर्दै श्रमिकहरूको न्यूनतम पारिश्रमिक नबढाइनुले सरकार श्रमिकप्रति संवेदनशील नरहेको स्पष्ट भएको बताए।
उनले विगतमा जनार्दन शर्मालाई बजेट हेरफेरको आरोपमा राजीनामा दिन बाध्य बनाइएको स्मरण गराउँदै अहिलेका अर्थमन्त्रीमाथि पनि बजेट दर हेरफेरसम्बन्धी गम्भीर प्रश्न उठेको उल्लेख गरे।
सरकारले नागरिकमा आत्मविश्वास जगाउन नसकेको उनको टिप्पणी थियो। नागरिकमा भरोसा र आशा पैदा नभएसम्म देशमै बसेर केही गरौँ भन्ने वातावरण निर्माण हुन नसक्ने उनले बताए।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया