काठमाडौं। राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चार वर्षमै राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल भएको बताएका छन्।
काठमाडौं जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले २०७८ सालको महाधिवेशनपछि पार्टी नेतृत्व सम्हाल्दा प्रतिनिधिसभामा आफू एक्लो सांसद रहेको स्मरण गरे।
उनका अनुसार पछिल्लो निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा १४ सिट र प्रदेशसभामा २८ सिट जित्दै राष्ट्रिय पार्टीको हैसियत बनाएको हो।
लिङ्देनले राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। उनले अन्य राजनीतिक दलले पनि अब यी मुद्दालाई आफ्नो एजेन्डा बनाउन सक्ने कानुनी आधार तयार भएको बताए।
उनले लोकप्रियताको आधारमा राप्रपा रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पछि दोस्रो स्थानमा रहेको जिकिर गरे।
जनताबाट सकारात्मक प्रतिक्रिया पाए पनि त्यसलाई मतमा रूपान्तरण गर्न पार्टी असफल भएको स्वीकार गर्दै उनले यसको मुख्य कारण पार्टीभित्रकै कार्यशैली र संगठनात्मक कमजोरी रहेको बताए।
आगामी महाधिवेशनलाई पार्टी सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै उनले नयाँ सोच, नयाँ कार्यशैली र नयाँ योजनासहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया