काठमाडौं। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन भएको छ वर्षपछि प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ।
रक्षा मन्त्रालयले विधेयकको मस्यौदा तयार गरी सम्बन्धित निकायसँग परामर्शसमेत लिइसकेको जनाएको छ। मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरणअनुसार उक्त मस्यौदामा शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र अर्थ मन्त्रालयबाट राय–सुझाव लिइएको छ।
प्राप्त सुझावअनुसार संशोधन गरी मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी भइरहेको जनाइएको छ।
विकास समिति ऐन, २०१३ को दफा ३ बमोजिम नेपाल सरकारले २०७६ सालमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो। गत वैशाख १० गते गरिएको छैटौँ संशोधनमार्फत समितिको कार्यअवधि एक वर्ष थपिएको छ।
यसअघि समितिको कार्यअवधि छ वर्ष रहने व्यवस्था रहेकामा संशोधनपछि सात वर्ष कायम गरिएको हो। पूर्वाधार निर्माणका काम पूरा नभएकाले समितिको अवधि पटक–पटक थपिँदै आएको छ।
विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापनका लागि आवश्यक भौतिक, संस्थागत तथा कानुनी आधार तयार गर्न उक्त समिति गठन गरिएको हो।
राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि नेपाली सेनाको सक्रियतामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागिएको हो।
हाल नेपालमा सैनिक कमान्ड तथा स्टाफ कलेज र नेपाली सैनिक वार कलेजलगायत शैक्षिक संस्था सञ्चालनमा छन्। प्रस्तावित विश्वविद्यालयमा उच्च शिक्षादेखि सुरक्षा नीति निर्माणसम्मका विषयमा अध्ययन–अध्यापन गराइनेछ।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया