काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धान तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रतिवेदन र निर्णयका कागजात उपलब्ध गराउन आयोगसमक्ष औपचारिक निवेदन दिएका छन्।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार आयोगमा दर्ता गरिएको निवेदनमार्फत लेखकले जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धान प्रक्रिया, प्रतिवेदन तथा त्यसका आधारमा भएका निर्णयहरूको प्रमाणित प्रतिलिपि माग गरेका हुन्।
उनले आयोगकी आयुक्त लीली थापाको संयोजकत्वमा गठित अनुसन्धान तथा छानबिन समितिको कार्यादेश, समितिले तयार गरेको प्रतिवेदन, अनुसन्धानका क्रममा सङ्कलन गरिएका श्रव्य–दृश्य र लिखित प्रमाण, प्रतिवेदनका आधारमा आयोगले गरेको निर्णय तथा नेपाल सरकारलाई पठाइएको सिफारिससहितको प्रतिवेदनको प्रमाणित प्रतिलिपि र विद्युतीय (सफ्ट कपी) उपलब्ध गराउन आग्रह गरेका छन्।
यसअघि नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानवअधिकार आयोगको छानबिन प्रतिवेदन माग गर्दै आयोगमा निवेदन दिएका थिए।



प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया