काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न निर्वाचनको परिणामलाई आधार बनाएर कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी छन्। स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले दिएको सन्देशलाई आत्मसात् गर्दै कम्युनिस्ट आन्दोलनलाई समयअनुकूल परिस्कृत गर्नुपर्नेमा जोड दिइन्।

उनले हालैको निर्वाचन परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्नो कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई पुनरावलोकन गर्ने अवसर प्रदान गरेको बताइन्। जनताले व्यक्त गरेका अपेक्षा र सन्देशलाई गम्भीरतापूर्वक तथा रचनात्मक रूपमा ग्रहण गर्नुपर्ने उनको भनाइ छ।

‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु उचित हुँदैन,’ उनले भनिन्। राजनीतिक आन्दोलनको मूल्यांकन दीर्घकालीन र ऐतिहासिक सन्दर्भमा गरिनुपर्ने उल्लेख गर्दै उनले निर्वाचनको नतिजा मात्रलाई आधार बनाएर आन्दोलनको दिशा निर्धारण गर्न नहुने बताइन्।

उनले पछिल्लो समय युवा पुस्तामा देखिएको नयाँ आकांक्षा र बदलिँदो सामाजिक-राजनीतिक परिवेशलाई कम्युनिस्ट आन्दोलनले गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याइन्। युवा पुस्ताको अपेक्षाअनुसार नीति, कार्यक्रम र कार्यशैलीलाई परिस्कृत गर्दै अघि बढेमा मात्रै आन्दोलन थप सुदृढ बन्न सक्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com