काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको दाबी गर्दै त्यसलाई पुनर्जीवित गर्न नयाँ ढंगबाट पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्।

सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै शर्माले अहिले कम्युनिस्ट आन्दोलनभन्दा नेताहरू मात्रै सक्रिय रहेको टिप्पणी गरे।

‘नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्रै जीवित छन्,’ उनले भने, ‘कुनै समय देशमा ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिको जनमत थियो। तर आज त्यो आधार विघटन भइसकेको छ। त्यसलाई पुनः संगठित गर्न नयाँ अभियान अपरिहार्य भएको छ।’

शर्माले कम्युनिस्ट पार्टीको नाममा विगतमा गरिएका राजनीतिक अभ्यासको गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको परिणामले आन्दोलनलाई कमजोर बनाएको बताए।

‘हामीले कम्युनिस्ट पार्टीको नाममा जे–जे गर्‍यौँ, त्यसको आजको अवस्था के छ भन्ने वस्तुगत समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन अब पुनर्गठनको विकल्प छैन।’

उनले पुनर्गठन केवल संगठनात्मक नभई वैचारिक रूपमा पनि हुनुपर्नेमा जोड दिए। वैज्ञानिक समाजवादलाई आधार बनाएर आर्थिक, सामाजिक र न्यायका मुद्दामा स्पष्ट दृष्टिकोणसहित नयाँ ढंगले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com