काठमाडौं। इरान र अमेरिका एकअर्कामाथिको आक्रमण रोक्न तथा सम्झौतासम्बन्धी वार्तालाई निरन्तरता दिन सहमत भएका छन्।
एक अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीच प्राविधिक तहमा छलफल जारी रहनेछ। साथै तत्काल तनाव नबढाउने र जहाजहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्ने समझदारी बनेको जनाइएको छ।
दुई अमेरिकी अधिकारी तथा यस विषयमा जानकार एक स्रोतका अनुसार दुवै पक्षबीचको वार्ता मंगलबार कतारमा पुनः सुरु हुने भएको छ।
अमेरिका र इरानका प्रतिनिधिहरू वार्ता जारी राख्न दोहामा भेट्ने तयारीमा रहेका बताइएको छ।
यद्यपि, इरानी अधिकारीहरूले हालसम्म यसबारे औपचारिक पुष्टि गरेका छैनन्।
पछिल्ला दिनहरूमा हर्मुज जलडमरूमध्यको व्यवस्थापनलाई लिएर विवाद चर्किएको थियो। साथै इरान र अमेरिकाबीच भएका सैन्य आक्रमणले क्षेत्रीय तनाव थप बढाएको थियो।
यी घटनाक्रमबीच भएको नयाँ सहमतिले युद्धविराम कायम रहने वा नरहनेबारे देखिएको चिन्ता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया