काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सवारीसाधनमा जडान गरिएका कालो सिसाविरुद्ध सुरु गरेको अभियानअन्तर्गत गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीबाट पनि कालो सिसा हटाएको छ।
सोमबार गृहमन्त्री गुरुङ स्वयं काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाउन निर्देशन दिएपछि ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिव दुवैको सवारीबाट कालो सिसा हटाएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार कानुनको समान कार्यान्वयन सुनिश्चित गर्न सबै प्रकारका सवारीमा जडान गरिएका अवैध कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको छ।
प्रहरीका अनुसार कालो सिसा प्रयोग भएका सवारीसाधन अवैध गतिविधिमा बढी प्रयोग हुने गरेको पाइएको छ। लागुऔषध ओसारपसार, साना हतियारको कारोबार, आपराधिक गतिविधि तथा अपराधीको भाग्न सहयोग पुग्ने माध्यमका रूपमा यस्ता सवारी प्रयोग भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
सुन तस्करीजस्ता संगठित अपराधका घटनामा समेत कालो सिसा भएका सवारीसाधन प्रयोग भएको तथ्य फेला परेकाले अभियानलाई कडाइका साथ अघि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकारप्राप्त निकायको स्वीकृतिबिना सवारीको स्वरूप परिवर्तन गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै कालो सिसा जडान गर्नु पनि कानुनी रूपमा निषेधित रहेको जनाएको छ।
ट्राफिक प्रहरीले सबै सरकारी, निजी तथा सार्वजनिक सवारीधनीलाई कानुनको पालना गर्दै स्वेच्छाले कालो सिसा हटाउन आग्रह गरेको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया