काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा, विश्वसनीयता र औचित्य जोगाउन सांसदहरूले आफ्नो भाषा, व्यवहार र पोसाकमा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताएकी छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले त्यसको मर्यादा कायम राख्ने पहिलो दायित्व सांसदहरूकै हुने स्पष्ट पारिन्।
उनले पछिल्ला वर्षहरूमा संसद्को स्तर र प्रभावकारिताप्रति जनस्तरबाट उठिरहेका गुनासाहरूलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै संसदीय अभ्यासलाई थप जिम्मेवार, मर्यादित र परिणाममुखी बनाउन आग्रह गरिन्।
‘सांसदको अभिव्यक्ति, व्यवहार र प्रस्तुतिले संसद्को छवि निर्माण गर्छ,’ उनले भनिन्, ‘त्यसैले प्रत्येक सांसदले आफ्नो भाषा, आचरण र पोसाकमा पनि संसद्को गरिमाअनुकूल अनुशासन कायम गर्नुपर्छ।’
मन्त्री सोविता गौतमले संसद्को बहस जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित हुनुपर्ने बताउँदै प्रक्रियागत वा प्राविधिक प्रकृतिका विषय कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक संयन्त्रमार्फत समाधान गर्न सकिने धारणा राखिन्।
उनका अनुसार सदनको बहुमूल्य समय जनसरोकारका मुद्दा, नीति निर्माण र कानुन निर्माणमा केन्द्रित हुनुपर्छ। ‘जनताले तिरेको करबाट संसद् सञ्चालन भइरहेको छ,’ उनले भनिन्, ‘त्यसैले सांसदले बोल्ने प्रत्येक मिनेट जनताको हित र अपेक्षासँग जोडिएको हुनुपर्छ।’
संसद्को मर्यादा, विश्वसनीयता र प्रभावकारिता अभिवृद्धिका लागि आफू व्यक्तिगत रूपमा पूर्ण प्रतिबद्ध रहेको बताउँदै मन्त्री गौतमले संसद्प्रतिको जनविश्वास थप मजबुत बनाउन सबै सांसदले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया