काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसायबाट १ अर्ब डलरभन्दा बढी आम्दानी गरेका छन्।

सार्वजनिक पछिल्लो वित्तीय विवरणअनुसार उनले सन् २०२५ मा क्रिप्टो करेन्सीसँग सम्बन्धित व्यवसायबाट १ अर्ब डलरभन्दा बढी कमाएका हुन्।

विवरणअनुसार ट्रम्पले आफ्नो नाममा जारी गरिएको ट्रम्प मीम कोइनबाट करिब ४६३.५ मिलियन डलर रोयल्टी प्राप्त गरेका छन्।

त्यस्तै, उनका छोराहरूको संलग्नता रहेको क्रिप्टो कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि ५०० मिलियन डलरभन्दा बढी आम्दानी भएको उल्लेख गरिएको छ।

यसका साथै उनले आफ्ना होटल, गल्फ क्लब, घरजग्गा व्यवसाय तथा ट्रम्प ब्रान्डका घडी, बाइबल, जुत्ता, गितार र सुगन्धजस्ता उत्पादनबाट पनि करोडौं डलर आम्दानी गरेका छन्।

ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्प वा उनको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा नरहेको दाबी गरेको छ। ह्वाइट हाउसका अनुसार ट्रम्प प्रशासनले क्रिप्टो उद्योगलाई प्रोत्साहन दिने नीति अमेरिकाको हितका लागि अपनाएको हो।

वित्तीय विवरणमा प्रथम महिला मेलानिया ट्रम्पको आम्दानी पनि समावेश गरिएको छ। उनले आफ्नाबारे बनेको वृत्तचित्रको लाइसेन्स सम्झौता र एनएफटी बिक्रीबाट करोडौं डलर आम्दानी गरेकी छन्।

पछिल्ला वर्षहरूमा ट्रम्पले क्रिप्टोकरेन्सीप्रति खुला समर्थन जनाउँदै आएका छन्। उनले आफ्नो प्रशासनलाई अमेरिकालाई डिजिटल सम्पत्तिको क्षेत्रमा अग्रणी बनाउने लक्ष्यसहित अघि बढाएको बताएका छन्।

फोर्ब्स पत्रिकामा प्रकाशित विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा ट्रम्पको अनुमानित सम्पत्ति ६ अर्ब डलर छ। जुन २०२४ मा २.३ अर्ब डलर थियो। ब्लूमबर्गको बिलियनेर्स इन्डेक्सले राष्ट्रपतिको कुल सम्पत्ति ७.६ अर्ब डलर राखेको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com