काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमानमा अधिकांश पेट्रोल पम्प सञ्चालकहरूले नेपाल आयल निगमबाट इन्धन नउठाएपछि काठमाडौंसहित देशका विभिन्न स्थानमा पेट्रोलको कृत्रिम अभाव देखिएको छ। धेरै पम्पले ‘पेट्रोल छैन’ भन्दै सूचना टाँसेर बिक्री नै बन्द गरेका छन्।
नेपाल आयल निगमले मंगलबार स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको थियो। प्रत्येक अंग्रेजी महिनाको १५ र अन्तिम दिन मूल्य समायोजन गर्ने व्यवस्थाअनुसार निगमले नयाँ मूल्य लागू गरेको हो।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य घट्ने निश्चित भएपछि धेरै पेट्रोल पम्प सञ्चालकले नोक्सानीको जोखिम टार्न डिपोबाट पर्याप्त इन्धन नउठाएको कारण बजारमा अभाव देखिएको हो।
‘मूल्य घट्नुअघि धेरै परिमाणमा इन्धन खरिद गर्दा घाटा हुने भएकाले केही पम्पले डिपोबाट तेल उठाएनन्,’ उनले भने,’त्यसैले कतिपय स्थानमा पेट्रोल बिक्री रोकिएको जानकारी आएको छ।’
इन्धन अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकामा तीनवटा अनुगमन टोली परिचालन गरेको छ। टोलीलाई इन्धन भएर पनि बिक्री नगर्ने वा अनावश्यक रूपमा पम्प बन्द गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिइएको निगमले जनाएको छ।
प्रवक्ता ठाकुरका अनुसार उपत्यकाबाहिरका प्रादेशिक कार्यालयलाई पनि बजार अनुगमन तीव्र बनाउन निर्देशन दिइएको छ।
उनले हाल देखिएको समस्या अस्थायी मात्र भएको दाबी गर्दै डिलरमार्फत मागअनुसार इन्धन आपूर्ति भइरहेको र साँझसम्म अधिकांश स्थानमा वितरण सहज हुने बताए।
‘पछिल्ला केही दिन पम्पहरूले कम परिमाणमा इन्धन उठाएकाले तत्काल समस्या देखिएको हो,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन, एक–दुई दिनभित्र आपूर्ति पूर्ण रूपमा सामान्य हुन्छ।’
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा अमेरिका–इरान तनाव कम भएसँगै कच्चा तेलको मूल्य युद्धअघिकै स्तरमा झरेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको भए पनि नेपाली बजारमा इन्धनको मूल्य अझै युद्धअघिको स्तरसम्म नघटेको उपभोक्ताको गुनासो रहेको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया