काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै प्रकारको सम्झौता भएको भन्ने चर्चा निराधार र भ्रामक भएको स्पष्ट पारेका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले युरेनियम उत्खननसम्बन्धी फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।
उनले प्राकृतिक स्रोतको संरक्षण, उपयोग र व्यवस्थापनसम्बन्धी विषय नेपालको संविधानले निर्धारण गरेको व्यवस्था अनुरूप नै अघि बढ्ने स्पष्ट पार्दै सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
मन्त्री खनालले नेपालको परराष्ट्र नीति असंलग्नता, पञ्चशील र राष्ट्रिय हितमा आधारित रहेको उल्लेख गर्दै ती सिद्धान्तविपरीत हुने कुनै पनि अन्तर्राष्ट्रिय सम्झौता सरकारले नगर्ने प्रस्ट पारे।
नेपाल–भारत सम्बन्धका विषयमा बोल्दै उनले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई सम्मान गर्दै सीमा सम्बन्धी सबै विवाद ऐतिहासिक सन्धि, सम्झौता, प्रमाण र नक्साका आधारमा आपसी कूटनीतिक संवादमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले वर्तमान सरकारले राष्ट्रिय हितको संरक्षण, नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढीकरण तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी दिए।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया