काठमाडौं । नेकपाका सहसंयोजक माधवकुमार नेपालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट दलहरूबीच तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै त्यसबारे अनावश्यक अपेक्षा नराख्न कार्यकर्तालाई आग्रह गरेका छन्।

पोखरामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले पछिल्लो समय कम्युनिस्ट एकताबारे भइरहेको चर्चाप्रति संकेत गर्दै अहिलेको अवस्थामा त्यस्तो सम्भावना नरहेको बताएका हुन्।

“म यहाँ आउँदै गर्दा एक जना कार्यकर्ताले फोन गरेर सोध्नुभयो, ‘कमरेड, एकताको कुरा कहाँ पुग्यो ?’ मैले भनेँ, ‘गजब भइरहेको छ।’ फेरि उहाँले ‘के गजब ?’ भनेर सोध्नुभयो। त्यसपछि मैले एकता गर्ने भनिएका नेताकै भनाइ सुनाइदिएँ—‘अहिले कम्युनिस्ट पार्टीहरूबीच एकता सम्भव छैन,’” उनले भने।

माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै कम्युनिस्ट एकताको विषयलाई लिएर अहिले कुनै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।

माधवकुमार नेपालले कम्युनिस्ट दलहरूबीच तत्काल एकता नहुने भएकाले त्यसबारे अनावश्यक बहस र अपेक्षा त्यागेर पार्टीलाई सुदृढ बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए।

“पहिला आफ्नै पार्टीलाई बलियो बनाऔँ। हाम्रो संगठन सुदृढ भएपछि मात्रै अरूलाई पनि विश्वास र आशा पैदा हुन्छ,” उनले भने, “विगतमा हामीले मनमोहन अधिकारी, तुलसीलाल अमात्य र शम्भुराम श्रेष्ठलगायत नेताहरूसँग एकता गरेका थियौँ। इतिहासले आवश्यक पर्दा एकता सम्भव हुने देखाएको छ, तर अहिलेको प्राथमिकता संगठन निर्माण हुनुपर्छ।”

उनले नेता–कार्यकर्तालाई पार्टी विस्तार, संगठन सुदृढीकरण र जनतामाझ पार्टीको प्रभाव बढाउने अभियानमा सक्रिय हुन निर्देशन दिँदै अहिलेको आवश्यकता एकता होइन, संगठनलाई बलियो बनाउनु रहेको बताए।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com