काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध सामाजिक सञ्जालमार्फत चरित्रहत्या, भ्रामक सूचना फैलाएको तथा संस्थाको प्रतिष्ठामा आँच पुर्‍याएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ।

नेपाल मेडिकल काउन्सिलले बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उजुरी दर्ता गर्दै निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डे र काउन्सिलका पदाधिकारीहरूको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक तथा आपत्तिजनक सामग्री प्रकाशित गरिएको आरोप लगाएको हो।

काउन्सिलका अनुसार पूर्वसचिव उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा. पाण्डेको तस्बिर अनधिकृत रूपमा प्रयोग गर्दै तथ्यहीन र प्रतिष्ठामा आँच पुग्ने सामग्री सार्वजनिक गरेका थिए। उक्त पोस्टमा ‘नक्कली डाक्टर’ सम्बन्धी आरोप लगाउँदै प्रहरीमा उजुरी दिने, हिरासतमा राख्ने षड्यन्त्र भइरहेको भन्ने दाबी गरिएको थियो, जसलाई काउन्सिलले निराधार र भ्रामक भनेको छ।

मेडिकल काउन्सिलका अनुसार एलोप्याथी चिकित्सा अभ्यास गर्न अधिकार नभएका व्यक्तिले औषधि लेख्ने तथा रेडियोलोजिस्टले मात्र गर्न पाउने एमआरआईजस्ता विशेषज्ञ सेवा प्रदान गरेको उजुरीपछि कानुनबमोजिम छानबिन गरिएको थियो। छानबिनबाट दोषी देखिएका व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको र सम्बन्धित विषय अदालतमा समेत विचाराधीन रहेको काउन्सिलले जनाएको छ।

उजुरीमा काउन्सिलले आफ्नो नियामक अधिकारअन्तर्गत गरिएको कानुनी प्रक्रियालाई व्यक्तिगत प्रतिशोधको रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमार्फत संस्थाविरुद्ध साइबर बुलिङ गरिएको आरोप लगाएको छ।

काउन्सिलले पूर्वसचिव उपाध्यायको गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत रहेको दाबी गर्दै सामाजिक सञ्जालको दुरुपयोगमार्फत संस्था र पदाधिकारीविरुद्ध भ्रम, घृणा तथा द्वेष फैलाउने कार्य भएको उल्लेख गरेको छ।

उजुरीमा उपाध्यायलाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही गर्न माग गरिएको छ। साथै, प्रमाणका रूपमा सम्बन्धित फेसबुक पोस्टका स्क्रिनसट तथा आपत्तिजनक टिप्पणीहरूको विवरण पनि साइबर ब्युरोलाई बुझाइएको काउन्सिलले जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com