काठमाडौं। निर्वाचन प्रहरीका लागि पोसाक खरिद मा अनियमितता भएको आरोपबारे प्रधानमन्त्री सचिवालयले दबाब दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तीव्र बनाएको छ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गरी परिचालन गरेका थिए। उनीहरूका लागि तलब, राशन तथा पोसाकको व्यवस्था गरिएको थियो।
निर्वाचन प्रहरीका लागि आवश्यक पोसाक, जुत्ता लगायत सामग्री खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको हो।
उक्त खरिदमा करिब सात अर्ब ८३ करोड रुपैयाँ खर्च भएको जनाइएको छ, जसमा नेपाल प्रहरीतर्फ ठूलो हिस्सा रहेको छ।
प्रहरी प्रधान कार्यालयले समय अभावका कारण खुला बोलपत्र नगरी कार्यविधिमार्फत ठेकेदारसँग समन्वय गरेर पोसाक उपलब्ध गराएको बताइएको छ। कतिपय स्थानमा निर्वाचन प्रहरीलाई नगद दिएर आफैँ पोसाक खरिद गर्न लगाइएको थियो।
यस प्रकरणमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल तथा प्रहरी नेतृत्वसमेत अनुसन्धानको दायरामा आउन सक्ने चर्चा छ।
अख्तियारका अधिकारीहरूले अनुसन्धान जारी रहेको जनाउँदै आवश्यक प्रमाण सङ्कलन भइरहेको बताएका छन्।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया