सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेपछि त्यसमा सवार १४ यात्रुको अवस्था अज्ञात रहेको छ। दुर्घटनापछि गाडी र यात्रुको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको फोर्स गाडी कर्णाली राजमार्गअन्तर्गत चामुण्डाबिन्द्रासैनी नगरपालिका–स्थित साङ्गेतडामा सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको हो।
प्रहरीका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ उद्धार टोली घटनास्थलमा पुगेको भए पनि गाडी नदीमा डुबेकाले तत्काल फेला पार्न सकिएको छैन। दुर्घटनामा परेको गाडी र त्यसमा सवार यात्रुको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला गाडीमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट थप प्रहरी टोली परिचालन गरिएको छ। साथै सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरी संयुक्त रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
दुर्घटनास्थल सुर्खेतको वीरेन्द्रनगरबाट करिब ७५ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने बेपत्ता गाडी र यात्रुको खोजी कार्य जारी रहेको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया