काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई बुधबार त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।
त्यसै अवसरमा त्रिवि सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केले पनि पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनलाई आयोगका अध्यक्ष किशोर थापाले शपथ गराएका थिए। कार्यक्रममा शिक्षामन्त्री पोखरेलको समेत उपस्थिति रहेको थियो।
शपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले आफूले आयोगको जिम्मेवारी निर्भीक, निष्पक्ष र इमानदार ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
उनले सेवा आयोगलाई सक्षम, पारदर्शी र विश्वासिलो संस्थाका रूपमा स्थापित गर्दै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहने धारणा व्यक्त गरे।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया