काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका लागि विशेष अदालतले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धान प्रयोजनका लागि पौडेलको हिरासत अवधि तेस्रोपटक थप गर्ने आदेश दिएको हो।
अदालत प्रशासनका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अझै पूरा हुन बाँकी रहेको भन्दै म्याद थपको माग गरेपछि अदालतले थप ६ दिनको अनुमति दिएको हो।
पौडेल हाल न्यायिक हिरासतमा रहेका छन्। विभागले अनुसन्धानलाई निरन्तरता दिन उनलाई विशेष अदालतमा उपस्थित गराएको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका पौडेलमाथि विभागले आवश्यक प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार













प्रतिक्रिया