काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले परिचित कुमार थापा श्रीमती हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा जाने भएका छन्। काठमाडौं जिल्ला अदालतले थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई अनुसन्धान तथा मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश जारी गरेको अदालत स्रोतले जनाएको छ।

थापामाथि काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित आफ्नै घरमा गत जेठ २२ गते राति घरायसी विवादका क्रममा आफ्नी ४२ वर्षीया श्रीमती तथा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप छ।

अनुसन्धानका क्रममा दिएको बयानमा थापाले घाँटी रेटेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

यही प्रकरणमा प्रतिवादी बनाइएका विक्रम थापा मगर र सुजन थापालाई भने अदालतले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न सक्ने आदेश दिएको छ।

प्रहरी अनुसन्धानका क्रममा घटनामा अन्य व्यक्तिको पनि संलग्नता देखिएपछि थप व्यक्तिहरूलाई प्रतिवादी बनाइएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयले योजनाबद्ध रूपमा हत्या गरिएको दाबी गर्दै अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

प्रारम्भिक सुनुवाइका क्रममा उपलब्ध प्रमाण, घटनाको प्रकृति र अनुसन्धानबाट प्राप्त विवरणका आधारमा अदालतले मुख्य आरोपित कुमार थापा र प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’का रूपमा परिचित थापा विरुद्धको यो घटनाले देशव्यापी चर्चा पाएको थियो। अदालतको पछिल्लो आदेशसँगै अब उनीहरूविरुद्धको मुद्दा थुनामै बसेर अघि बढ्ने भएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com