काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ।
असार १९ देखि २१ गतेसम्म थापाथलीस्थित द ब्रिटिस कलेजमा सञ्चालन हुने तालिममा देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफीमा रुचि राख्ने ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका संयोजक तथा समुहका महासचिव घनश्याम श्रेष्ठ बताए ।

तालिमको मुख्य उद्देश्य फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार तस्बिरको गुणस्तर सुधार गर्नु तथा फोटो क्याप्सन लेखन, फोटो सम्पादन, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ), डिजिटल प्रविधिको प्रयोग र फोटोपत्रकारिताको नैतिक पक्षबारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको एनएफपिजेले जनाएको छ।

तीनदिने तालिममा फोटोपत्रकारिताको इतिहास र विकास, समाचार मूल्यअनुसार फोटो छनोट, क्यामरा सञ्चालन तथा सेटिङ, प्रकाश व्यवस्थापन, ब्रेकिङ न्युज कभरेज, फोटो सम्पादन, आचारसंहिता, नैतिकता र फिल्ड अभ्यासलगायत विषयमा प्रशिक्षण दिइनेछ। तालिमको अन्तिम दिन सहभागीहरूले खिचेका तस्बिरको समीक्षा तथा मूल्याङ्कन पनि गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य, एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्त लगायत अनुभवी प्रशिक्षकहरूले सहजीकरण गरिरहेका छन्। सहभागीहरूले सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक अभ्यास, समूह छलफल र फिल्ड फोटोग्राफीमार्फत आफ्नो सीप अभिवृद्धि गर्ने अवसर पाएका छन्।
एनएफपिजे नेपालका अध्यक्ष वन्तले यस्ता क्षमता विकासमूलक तालिमले नेपाली फोटोपत्रकारिताको व्यावसायिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’ ले तालिमले सहभागीहरूको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।

तालिम सफल बनाउन सहयोग गर्ने सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षक, अतिथि, सहभागी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया