काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका पहिलो १०० दिनलाई परम्परागत राजनीतिक मापदण्डले मात्र मूल्याङ्कन गर्न नहुने बताएका छन्। पुरानो संसदीय राजनीतिको दृष्टिकोणबाट हेर्दा उल्लेखनीय उपलब्धि नदेखिए पनि शासनशैलीमा परिवर्तनको प्रारम्भिक प्रयासका रूपमा यस अवधिलाई हेर्नुपर्ने उनको धारणा छ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको १०० दिनबारे फरक–फरक दृष्टिकोणबाट फरक निष्कर्ष आउनु स्वाभाविक भएको उल्लेख गरे। उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने उक्ति उद्धृत गर्दै मूल्याङ्कन व्यक्तिको दृष्टिकोणमा निर्भर रहने बताए।
उनका अनुसार परम्परागत संसदीय राजनीतिको निरन्तरताको चस्माबाट हेर्दा सरकारका पहिलो १०० दिन विशेष उपलब्धिमूलक नदेखिन सक्छन्। बरु पुरानो राजनीतिक अभ्यासमा परिवर्तनको संकेत देखिएकाले केहीमा आशंका र असहजता पनि उत्पन्न भएको हुन सक्ने उनले उल्लेख गरे।
तर युग परिवर्तन, नेतृत्वको पुस्तान्तरण र गैरपरम्परागत राजनीतिक पृष्ठभूमिबाट आएको नयाँ नेतृत्वको सन्दर्भमा हेर्दा यी १०० दिनलाई पुरानो शासकीय शैलीबाट नयाँ अभ्यासतर्फको प्रारम्भिक संक्रमणका रूपमा बुझ्नुपर्ने भट्टराईको भनाइ छ।
उनले सरकारलाई तत्काल कठोर निष्कर्षमा पुगेर मूल्याङ्कन गर्नु उपयुक्त नहुने उल्लेख गर्दै केही समय ‘शंकाको लाभ’ दिनुपर्ने सुझाव दिएका छन्।
भट्टराईले नेपालको जटिल भूराजनीतिक अवस्था, परनिर्भर अर्थतन्त्र र तीव्र आर्थिक–सामाजिक रूपान्तरणको चुनौतीलाई ध्यानमा राख्दै सरकारका प्रारम्भिक १०० दिनलाई सिकाइ र अनुभव सङ्कलनको अवधि मान्नुपर्ने बताए। आगामी दिनमा भने सरकारले अझ स्पष्ट कार्यदिशा, गम्भीरता र प्रभावकारी कार्यसम्पादनसहित अघि बढ्नुपर्ने उनको सुझाव छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया