काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुन तथा चाँदीका गहनाहरू सक्कली रहेको पुष्टि भएको छ। जुत्ता, पाइन्ट, सारी लगायतका गार्मेन्ट सामग्रीभित्र लुकाई कुरियरमार्फत निकासी गर्न खोजिएको अवस्थामा बरामद गरिएका गहनाहरू परीक्षणपछि सक्कली सुन र चाँदी भएको प्रमाणित भएको हो।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार गत मंगलबार शंकास्पद रूपमा पठाउन खोजिएका गहनाहरू परीक्षणका लागि सुनचाँदी व्यवसायी सङ्घ, क्षेत्रपाटी पठाइएको थियो। परीक्षणबाट २८५.९७८ ग्राम सुन र ३ केजी ९१४.६५० ग्राम चाँदी रहेको पुष्टि भएको हो।
बजार मूल्यका आधारमा उक्त सुनको मूल्य करिब रु. ६७ लाख ३४ हजार ३५० र चाँदीको मूल्य रु. १४ लाख ३८ हजार ४३ रहेको छ। यससँगै बरामद भएका गहनाहरूको कुल अनुमानित मूल्य रु. ८१ लाख ७२ हजार ३९३ पुगेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार यस्ता बहुमूल्य गहनाहरू वैधानिक रूपमा खरिद गरी सम्बन्धित निकायमा घोषणा (Declaration) गरेर निर्यात गर्न सकिने व्यवस्था हुँदाहुँदै कर तथा कानुनी प्रक्रिया छल्ने उद्देश्यले गार्मेन्ट सामग्रीभित्र लुकाएर विदेश पठाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
बरामद गरिएको सुन तथा चाँदी थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्।
यस घटनापछि सामाजिक सञ्जाल तथा भन्सार क्षेत्रसँग सम्बन्धित विभिन्न वृत्तमा विगतमा पनि यस्तै प्रकृतिका गतिविधि हुने गरेको भन्ने चर्चा पुनः सतहमा आएको छ।
उक्त कुरियर कम्पनीले यसअघि पनि चुरोट निकासीका क्रममा एक मजदुरका नेता मार्फत प्रभावशाली व्यक्तिहरूको संरक्षणमा यस्ता अवैध गतिविधि सञ्चालन हुने गरेको दाबी गरेका छन्। साथै, पछिल्लो सुन तथा चाँदी बरामद प्रकरण पनि त्यही समूहसँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरिएको छ।
यस्तै, सोही भन्सार कार्यालयसँग सम्बन्धित एक कर्मचारीको परिवारको नाममा सञ्चालनमा रहेको भनिएको कुरियर कम्पनीमार्फत सामान संकलन गरी अर्को अन्तर्राष्ट्रिय कुरियर सेवा प्रयोग गरेर विदेश पठाइने गरेको आरोपसमेत विभिन्न पक्षबाट उठाइएको छ। तर, यी आरोपहरू सम्बन्धित निकायबाट हालसम्म आधिकारिक रूपमा पुष्टि भएका छैनन्।
यस घटनाले अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने निकासी प्रक्रियाको प्रभावकारी निगरानी, जोखिम व्यवस्थापन तथा कुरियर प्रणालीको नियमनमाथि पुनः प्रश्न उठाएको छ। सरोकारवालाहरूले यस प्रकरणलाई केवल बरामदमै सीमित नराखी यसको सम्पूर्ण सञ्जाल, संलग्न व्यक्ति तथा सम्भावित संरक्षकसम्म पुगेर निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
व्यापार तथा निकासी प्रणालीमा पारदर्शिता कायम राख्न, वैध निर्यातकर्ताको विश्वास जोगाउन तथा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूले कुनै पनि प्रकारको प्रभाव वा दबाबविना अनुसन्धान अघि बढाई दोषी देखिएका जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत उठ्न थालेको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया