काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिन पूरा भएको अवसरमा सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारसँग सम्बन्धित १३ प्रमुख उपलब्धि सार्वजनिक गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन, १११ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणका मुद्दा दर्ता, ३१ सरकारी निकाय खारेज, ६ निकाय गाभ्ने तथा मन्त्रालयको संख्या २२ बाट १८ मा झार्ने निर्णयलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ।

त्यस्तै, ६७२ सरकारी सवारीसाधन फिर्ता ल्याउने, सार्वजनिक निकायका दलीय ट्रेड युनियन खारेज गर्ने, विभिन्न पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया सुरु गर्ने, ७५ जिल्लामा हुलाकमार्फत सार्वजनिक सेवा विस्तार गर्ने तथा डिजिटल सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने कार्यलाई पनि उपलब्धिमा समेटिएको छ।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण, ‘हेलो सरकार’लाई नागरिक संवादको प्रभावकारी माध्यम बनाउने, रुग्ण आयोजनाको व्यवस्थापन, सहकारी पीडितलाई बचत फिर्ता तथा ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ’ स्थापना जस्ता कामलाई पनि पहिलो १०० दिनका उल्लेखनीय उपलब्धि भएको दाबी गरेको छ। साथै, आगामी दिनमा शासकीय सुधारलाई अझ प्रभावकारी ढंगले अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com