काठमाडौं । कीर्तिपुरमा रहेको नेपाल एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा सशस्त्र प्रहरीका इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ परेकी छन्। स्कुलकी लेखा प्रमुखसमेत रहेकी गुरुङलाई उनका साथी लीला लामासहित शनिबार ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सशस्त्र प्रहरी मुख्यालयको पत्रका आधारमा प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। उजुरीअनुसार स्कुलको बैंक खातामा हुनुपर्ने करिब साढे ४ करोड रुपैयाँ विगत चार वर्षदेखि व्यक्तिगत खातामा राखी दुरुपयोग गरिएको आरोप छ।
चार आर्थिक वर्षको बैंकिङ कारोबारबारे मुख्यालयले छानबिन अघि बढाएको छ। घटनामा अन्य केही अधिकारीको समेत संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार











प्रतिक्रिया