काठमाडौं। मध्यपूर्वमा उत्पन्न ऊर्जा आपूर्ति संकटपछि भारतले स्वदेशी कच्चा तेल तथा प्राकृतिक ग्यासको अन्वेषण र उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिप सिंह पुरीले ऊर्जा सुरक्षाका लागि स्वदेशी स्रोतको विकासलाई उच्च प्राथमिकता दिइएको बताएका छन्।

उनका अनुसार भारतले हालसम्म अन्वेषण नभएका करिब दुई लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास खोजीका लागि छिट्टै बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। गहिरो समुद्री क्षेत्रमा अन्वेषण विस्तार गर्न अन्तर्राष्ट्रिय ऊर्जा कम्पनीहरूसँग पनि सहकार्य भइरहेको उनले जानकारी दिए।

भारत विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता हो। अमेरिका–इरान तनावका क्रममा होर्मुज जलडमरूमध्यमा देखिएको अवरोधले ऊर्जा आपूर्तिमा चुनौती थपिएपछि भारतले स्वदेशी उत्पादन बढाउने रणनीति अपनाएको हो। हाल द्वन्द्व कम भएसँगै खाडी क्षेत्रबाट तेल तथा ग्यासको ढुवानी पुनः सामान्य बन्दै गएको छ।

भारतको तेल मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५/२६ मा स्वदेशी कच्चा तेल उत्पादन दुई करोड ५९ लाख ८० हजार मेट्रिक टन पुगेको थियो, जसले कुल आवश्यकताको करिब १० प्रतिशत मात्रै पूर्ति गरेको छ।

ऊर्जा सुरक्षालाई सुदृढ बनाउन भारतले कच्चा तेल आयात गर्ने मुलुकको संख्या २७ बाट ४१ पुर्‍याएको छ। यसक्रममा रुस, इरान, भेनेजुएला तथा विभिन्न अफ्रिकी मुलुकबाट आयात बढाइएको छ। रुसी तेल खरिदप्रति पश्चिमी मुलुकको आलोचना भए पनि भारतले आफ्ना ऊर्जा आवश्यकतालाई प्राथमिकतामा राखेको मन्त्री पुरीको भनाइ छ।

हाल भारतको अधिकांश स्वदेशी तेल उत्पादन मुम्बई अपतटीय क्षेत्र, राजस्थान, गुजरातआसाममा केन्द्रित छ। साथै अन्डमान तथा निकोबार द्वीपसमूह आसपासको गहिरो समुद्री क्षेत्रमा पनि अन्वेषणलाई तीव्रता दिइने भएको छ।

नरेन्द्र मोदीले घोषणा गरेको ‘समुद्र मन्थन’ अभियानअन्तर्गत समुद्रमुनि रहेका तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राखिएको छ। सरकारले सन् २०७० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखे पनि बढ्दो ऊर्जा मागलाई ध्यानमा राख्दै नवीकरणीय ऊर्जा, आणविक ऊर्जा तथा इथेनोल मिश्रित इन्धनमा पनि लगानी विस्तार गरिरहेको जनाएको छ।

मन्त्री पुरीका अनुसार भारतको दैनिक तेल खपत सन् २०२१ मा ५० लाख ब्यारेल रहेकामा अहिले करिब ५६ लाख ब्यारेल पुगेको छ। निकट भविष्यमै यो दैनिक ६० लाख ब्यारेल पुग्ने अनुमान गर्दै करिब १० अर्ब अमेरिकी डलर लगानीमार्फत तेल तथा ग्यास अन्वेषणलाई थप तीव्र बनाइने उनले बताएका छन्।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com